|  

आजदेखि मलमास सकिंदै, मौन स्नान गरेर सोमबारे औँसी मनाइयो

१ असार, काठमाडौं । गएको जेठ ३ गतेदेखि सुरु भएको मलमास (अधिकमास)आज सकिँदैछ। हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ ।

अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ । यस अवधिमा काठमाडौँको मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको थियो, जसको आज अन्तिम दिन हो । त्यस्तै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा पनि एक महिनादेखि मेला चलिरहेको छ।

मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू भोलिदेखि पुनः सुरु हुने भएका छन्। पर्सि रातो मच्छिन्द्रनाथको रथ यात्रा लगनखेलको थतिटोलबाट जावलाखेल पुर्‍याउने तयारी छ ।

यसैबीच आज सोमबारे औँसी पनि परेको छ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।