|  

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

१ असार, काठमाडौं । भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर सवार हेलिकोप्टरले अनुमति बिना नेपालको आकाश प्रवेश गरेको छ ।

उक्त हेलिकोप्टर गत मंगलबार दार्चुलाको आकाश हुँदै कालापानी क्षेत्रको गुञ्जीतर्फ गएको बताइएको छ। हेलिकोप्टर नेपाली भूमिमा अवतरण भने गरेको थिएन । अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको विमान वा हेलिकोप्टरले अर्को देशको हवाई क्षेत्र प्रयोग गर्नुअघि अनुमति लिनुपर्छ ।

अनुमति बिना गरिएको प्रवेशलाई हवाई क्षेत्र उल्लंघन मानिन्छ ।प्रशासनका अनुसार उक्त दिन मौसम सामान्य थियो । उडान मार्ग परिवर्तन गर्नुपर्ने कुनै विशेष कारण देखिएको थिएन । साथै भारतीय पक्षबाट उडानबारे कुनै पूर्वजानकारी पनि दिइएको थिएन ।

दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटनाहरु सार्वजनिक हुने गर्छन् । केही समयअघि पनि दार्चुला सदरमुकाम खलंगाको आकाश हुँदै भारतीय हेलिकोप्टरहरू निरन्तर कालापानीतर्फ उडेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो ।