|  

दाउन्नेको घ्युखोलामा भारतीय बस दुर्घटना, ६ महिला घाइते

१४ जेठ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन् ।

बिहीबार करिब ४ बजे यूपी ६२ डीटी २७८० नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका छन् । उनीहरूलाई बिनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारत महाराष्ट्रकी सुशिला निगोत, सुशिला जीसी, संगिता बस्नेत, भासुली कादम, रेखा टाउरे र योगिता बलेरौ रहेका छन् ।

बस चालक भारत आजमगढका ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।