|  

अबको ४५ दिनभित्र नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन दिन सकिने 

२४ चैत्र, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट)र सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका प्रमुख सरकारी सेवाका लागि एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयले स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत सरकारी सेवाहरूलाई प्रविधिमैत्री, छरितो र झन्झटमुक्त बनाउन यस्तो योजना अघि सारिएको हो ।नागरिक एपमा पुलिस रिपोर्ट, राहदानी र सवारी चालक अनुमति पत्र जस्ता सेवाहरूलाई अन्तरआबद्ध गरी एउटै पोर्टलबाट आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ । यी मध्ये नागरिक एपमार्फत अनलाइनबाटै प्रहरी प्रतिवेदन प्राप्त गर्ने प्रणाली यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

अबको ४५ दिनभित्र राहदानी र लाइसेन्सका लागि पनि आवेदन दिन मिल्ने गरी प्रणालीलाई पूर्ण रूपमा एकीकृत गरिने मन्त्रालयले जनाएको छ मन्त्रिपरिषद्को गत १३ चैतको निर्णय बमोजिम ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो।

यस कार्ययोजना अन्तर्गत नागरिकले एउटै एपबाट धेरै सरकारी सेवाका लागि आवेदन दिन सक्ने र सरकारी कार्यालय धाउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।