|  

राष्ट्रिय सुरक्षाको खतरा देखाउँदै विदेशमा निर्मित सम्पूर्ण इन्टरनेट राउटरमाथि अमेरिकाको प्रतिबन्ध

१० चैत्र, काठमाडौं । अमेरिकाले राष्ट्रिय सुरक्षाको चिन्तालाई ध्यानमा राख्दै विदेशमा निर्मित नयाँ इन्टरनेट राउटरहरूमा प्रतिबन्ध लगाएको छ ।

सङ्घीय सञ्चार आयोग (एफसीसी) ले सोमबार सुरक्षित नठानिएका उपकरणहरूको सूची अपडेट गर्दै अमेरिका बाहिर निर्माण गरिएका सबै उपभोक्ता–स्तरका राउटरहरूलाई त्यसमा थपेको हो ।यो प्रतिबन्धले घर र व्यवसायहरूमा कम्प्युटर, फोन, टेलिभिजन र अन्य उपकरणहरूलाई इन्टरनेटमा जोड्न व्यापक रूपमा प्रयोग हुने राउटरहरूलाई विदेशी निर्मित ड्रोनहरूको श्रेणीमा राखेको छ । उक्त श्रेणीका उत्पादनलाई गत वर्षको अन्त्यमा प्रतिबन्ध लगाइएको थियो ।

एफसीसीले भनेको छ,‘दुर्भावनापूर्ण तत्त्वहरूले अमेरिकी घरपरिवारमा आक्रमण गर्न, नेटवर्कहरू अवरुद्ध गर्न, जासुसी गर्न र बौद्धिक सम्पत्ति चोरी गर्नका लागि विदेशी निर्मित राउटरहरूको सुरक्षा कमजोरीहरूको फाइदा उठाएका छन् ।’यद्यपि प्रयोगकर्ताहरूले आफूसँग पहिले नै भएका विदेशी राउटरहरू भने प्रयोग गर्न सक्नेछन् ।

यो प्रतिबन्ध सबै नयाँ उपकरण मोडेलहरूमा लागु हुने छ।नयाँ नियम अनुसार अब अमेरिका बाहिर बनेका कुनै पनि नयाँ राउटरलाई आयात, मार्केटिङ वा बिक्री गर्नुअघि एफसीसीबाट स्वीकृति लिनुपर्नेछ ।

स्वीकृति प्राप्त गर्नका लागि निर्माणकर्ता कम्पनीहरूले आफ्ना विदेशी लगानीकर्ता वा प्रभावको बारेमा जानकारी दिनुपर्नेछ र राउटरको उत्पादनलाई अमेरिकामा सार्ने योजना पेस गर्नुपर्नेछ । रक्षा मन्त्रालय वा होमल्याण्ड सेक्युरिटी विभागले उपयुक्त ठानेमा केही विशेष राउटरहरूलाई प्रतिबन्धबाट छुट दिन सक्नेछ । तर हालसम्म कुनै पनि एजेन्सीले त्यस्तो छुट दिएका छैनन् ।